

ज्ञानेन्द्र थापा क्रोसिया : विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को ब्रड पिक हिमाल आरोहणका क्रममा निधन भएको पुष्टि उनको संस्थापक संस्था इलाइट एक्सपेडले गरेको छ । संस्थाले शनिबार जारी गरेको आधिकारिक वक्तव्यमा पुर्जाको हिमपहिरोमा परी निधन भएको पुष्टि गरेको हो।

इलाइट एक्सपेडले पाकिस्तानको ब्रड पिकमा आएको हिमपहिरोपछि आरोहणमा सहभागी अन्य सदस्यहरू पनि जीवित नरहेको जानकारी प्राप्त भएको जनाएको छ। संस्थाले निम्सदाइसँगै ज्यान गुमाएका उनका विश्वासपात्र आरोहण साझेदार तथा गाइड पुर बहादुर गुरुङ (युक्ता) र निमा शेर्पा प्रति पनि गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ।

वक्तव्यमा उनीहरूको परिवार, साथीभाइ र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै यस्तो अकल्पनीय क्षतिको पीडालाई कुनै शब्दले कम गर्न नसक्ने उल्लेख गरिएको छ। साथै शोकमा रहेका परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह गरिएको छ।

इलाइट एक्सपेडले निम्सदाइलाई संसारले पर्वतारोहणका महानतम आरोहीमध्ये एक, साहसी नेता र करोडौं मानिसलाई प्रेरणा दिने व्यक्तित्वका रूपमा गुमाएको उल्लेख गरेको छ। वक्तव्यमा उनका असाधारण उपलब्धिभन्दा पनि उनले मानिसहरूलाई ठूलो सपना देख्न, आफूमा विश्वास गर्न र सीमिततालाई अस्वीकार गर्न प्रेरित गरेको उल्लेख छ ।‘उनले संसारलाई देखाउन चाहन्थे कि जब तपाईं ठूलो सपना देख्नुहुन्छ, आफूमा विश्वास गर्नुहुन्छ र सीमिततालाई स्वीकार गर्नुहुन्न, तब मानव क्षमताले कल्पनाभन्दा धेरै ठूलो उपलब्धि हासिल गर्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

इलाइट एक्सपेडका अनुसार निम्सदाइको दूरदृष्टि, नेतृत्व र अटल दृढताले इलाइन एक्सपेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरजस्ता संस्थाहरूको निर्माण र विकास सम्भव भएको थियो।

संस्थाले उनको विरासत उनले परिवर्तन गरेका असंख्य जीवन र प्रेरित गरेका अनगिन्ती मानिसहरूमार्फत जीवित रहने विश्वास व्यक्त गरेको छ। ‘उनको आत्मा, उद्देश्य र विरासतले आगामी पुस्तालाई पनि प्रेरित गरिरहनेछ,’ वक्तव्यमा उल्लेख छ।
इलाइट एक्सपेडले कठिन परिस्थितिमा खोज तथा उद्धार अभियानमा खटिएका टोली र सहयोग पुर्याउने सबैप्रति आभार पनि व्यक्त गरेको छ।

