

जाग्रेब (क्रोएसिया) — वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया पुगेकी एक नेपाली युवतीको आफ्नै होस्टेलमा दुखद निधन भएको छ । धादिङ जिल्लाको गैरा स्थायी घर भई विगत दुई वर्षदेखि क्रोएसियाको राजधानी जाग्रेबमा कार्यरत २२ वर्षीया आनन्दा तामाङ शनिबार मृत फेला परेकी हुन् ।
![]()
जाग्रेबस्थित एक क्लिनिङ कम्पनीमा सरसफाइ मजदुरको रूपमा कार्यरत तामाङ अप्रिल ४, २०२६ का दिन होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् । घटना सार्वजनिक भए लगत्तै त्यहाँ रहेका नेपाली समुदाय र आफन्तजनमा शोकको लहर छाएको छ ।

गैर-आवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाका अध्यक्ष साइमन लामाले घटनाको पुष्टि गर्दै प्रारम्भिक प्रकृति हेर्दा उनले आत्महत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । तामाङ मृत फेला परेको समयमा होस्टेलमा उनका अन्य साथीहरू नरहेको बताइएको छ । यद्यपि, यो मृत्युको वास्तविक कारण भने अझै खुल्न सकेको छैन । स्थानीय प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ भने अस्पतालको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै सत्यतथ्य बाहिर आउने अध्यक्ष लामाले जानकारी दिए ।

यस हृदयविदारक र असामयिक घटनाप्रति गहिरो दुख व्यक्त गर्दै एनआरएनए क्रोएसियाले एक प्रेस नोट जारी गरेको छ । अध्यक्ष लामाले मृतकको चीर आत्माको शान्तिको कामना गर्दै शोककुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
![]()
अहिले तामाङको पार्थिव शरीरलाई नेपाल पठाउने वा अन्य प्रक्रियाका बारेमा आवश्यक कानुनी परामर्श र समन्वय भइरहेको बुझिएको छ ।

